नियम ३२
बजेट निकासा
(१) सालबसाली पेश्की खर्च ऐन वा विनियोजन ऐन वा पूरक विनियोजन ऐन वा उधारो खर्च ऐन जारी भएपछि अर्थ मन्त्रालयका सचिवले सम्बन्धित सचिवलाई बजेट शीर्षक, उपशीर्षक र रकम समेत खुलेको बजेट विवरण, विकास बजेटमा परेका आयोजनाहरूको निम्ति खर्च व्यहोर्ने स्रोतको विवरण र बजेट खर्च गर्ने गराउने सम्बन्धी अख्तियारी पत्र पठाउनु पर्नेछ । त्यस्तो बजेट विवरण र खर्च गर्ने अख्तियारी पत्रको बोधार्थ महालेखा परीक्षकको कार्यालय र महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बजेट विवरण र खर्च गर्ने अख्तियारीपत्र प्राप्त भएको पन्ध्र दिन भित्र सम्बन्धित सचिवले विभागीय प्रमुखलाई र विभागीय प्रमुखले मातहत कार्यालय प्रमुख वा कार्यक्रम सञ्चालन गर्ने कार्यालय प्रमुखलाई कार्यालयगत बजेट विवरण स्वीकृत कार्यक्रम र खर्च व्यहोर्ने स्रोत खोली बजेट खर्च गर्ने अख्तियारीपत्र पठाउनु पर्नेछ । सम्बन्धित सचिवले त्यस्तो कार्यालयगत बजेट विवरण, कार्यक्रम र खर्च गर्ने अख्तियारी पत्रको बोधार्थ महालेखा नियन्त्रक कार्यालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पनि पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कार्यालयगत बजेट विवरण, कार्यक्रम र खर्च गर्ने अख्तियारीपत्र प्राप्त भएपछि सम्बन्धित कार्यालयले महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिमको फाराम भरी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा बजेट निकासा माग गर्नु पर्नेछ । बजेट निकासा माग गरी पठाउँदा अघिल्लो महिनासम्मको विनियोजन खर्चको फाँटबारी पेश गर्नु पर्नेछ । यसरी निकासा माग गर्दा राजश्व, धरौटी र प्रचलित कानून बमोजिम खडा भएको कार्य सञ्चालन कोष लगायत सम्पूर्ण कारोवारकोे मासिक फाँटबारी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेश गरी सकेको हुनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सम्बन्धित कार्यालयबाट रीतपूर्वक बजेट निकासा माग पेश भएपछि सो कार्यालयको राजश्व, धरौटी र प्रचलित कानून बमोजिम खडा भएको कार्य सञ्चालन कोष अन्तर्गत भए गरेका सम्पूर्ण कारोवारकोे मासिक फाँटबारी पेश भई सकेको भए सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सो कार्यालयको स्वीकृत बजेट भित्र रही, महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिम बजेट निकासा रकम सम्बन्धित कार्यालयको खातामा जम्मा गर्ने व्यवस्था गराई त्यसको सूचना सम्बन्धित कार्यालयलाई र बजेट खर्च गर्ने अख्तियारी दिने कार्यालय समेतलाई दिनु पर्नेछ । यसरी बजेट रकम निकासा दिंदा अर्थ मन्त्रालय वा सम्बन्धित कार्यालयको तालुक मन्त्रालय, विभागबाट बजेट रकम निकासा रोक्का भएकोमा फुकुवा नभएसम्म त्यस्तो रकम निकासा दिनु हुदैन । तर बजेट रकम निकासा भै खर्च भैसकेपछि उक्त निकासा रोक्का राख्न लेखि आएमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले त्यस्तो निकासा रोक्का राख्न नसक्ने जानकारी सम्बन्धित कार्यालयको तालुक मन्त्रालय वा विभागलाई दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम बजेट रकम निकासा दिंदा वैदेशिक सहयोग वा ऋण सहायता समावेश भएको योजनाको सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयबाट तोकेको कार्यविधि अनुसार निकासा दिनु पर्नेछ ।
(६) सालबसाली विनियोजन ऐन पारीत नभएको अवस्थामा वा विनियोजन ऐन पारीत भई उपनियम (१) र (२) बमोजिमका कागजातहरू प्राप्त भइनसकेको अवस्थामा बजेट रकम निकासा प्रक्रिया महालेखा नियन्त्रक कार्यालयले तोकि दिए बमोजिम हुनेछ ।
(७) उपनियम (३), (४), (५) र (६) मा जुनसुकै कुरा लेखिएको भएतापनि जिल्ला स्थित सरकारी कार्यालयकोे निम्ति बिनियोजित बजेट सम्बन्धित कार्यालयले दिएको भुक्तानी आदेश अनुसार सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै खर्च लेखी भुक्तानी दिनु पर्दा अपनाउनु पर्ने तरिका महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिम हुनेछ ।
(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि बजेट रकम निकासा र खर्च सम्बन्धमा अर्थ मन्त्रालयले थप कार्यविधि तोकिदिन सक्नेछ ।